नबिल बैंक र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सबिच सम्झौता

पुष २६,काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्ससंग सम्झौता गरेको छ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ द्धारा यही २०७८ माघ ५ देखि ८ गते सम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पा“चौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को आयोजना आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सले गर्दैछ। कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरूजस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको जनाइएको छ ।

नबिल बैंकद्धारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको जनाइएको छ ।

उक्त सहकार्यका लागि नबिल बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख  निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको हो ।
कृषि कर्जा मेलामा आयोजना हुन लागेको “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको  निरज कुमार बस्नेत (डनिल) ले वताउनुभयो । उक्तसंवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुने बताउनु भयो ।

Spread the love