नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

असोज १, काठमाडौ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो ।

८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले आफुहरुले चुनौतीका बिच अर्बौ खर्च गरेर मल निर्माण गरिएको भन्दै राज्यले पनि व्यवसायीहरुलाई व्यवसायका लागि सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले राज्यले व्यवसायीको व्याजको सहजीकरण गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ । त्यस्तै वैंक, वित्तिय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा रहेका छन् । उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत रहेका छन् ।

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको तथा ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको अध्यक्ष कुँवरले बताउनुभयो । बसका चालक, सहचालक र यात्रुहरुलाई लक्षित गरेर सहुलियतदरमा सफा र स्वस्थ खाना, खाजा र बस्नको व्यवस्थाका लागि होटल तथा लजको समेत व्यवस्था गरिएको छ । बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय समेत सञ्चालनमा ल्याइएको छ ।

Spread the love