नाडा असोज ६ गतेदेखि ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने

नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन गरी ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो । नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूणर् रुपमा जानकारीसमेत लिन सकिने नाडाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडा इभी एक्स्पोका सभापति अनुपकुमार बरालले एक्स्पोमा ५१ वटा स्टल रहने बताउनु भयो । उहाँले एक्स्पोमा इभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शनीमा राखिने बताउनु भयो । उहाँले सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताउनु भयो । बरालले एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदर लगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराइने पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी हुन लागेको बताउनु भयो । उहाँले नाडा इभी आटो एक्स्पोमा प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ खुला गरिएको बताउनु भयो । अध्यक्ष थापाले अहिलेको आवश्यकताले इभी गाडीको एक्स्पो गर्नुपर्ने भएकाले नाडा त्यही अनुसार अगाडि बढेको बताउनु भयो । उहाँले नाडाले नाडा अटो सो गर्ने सबै प्रक्रिया पूरा गरेपनि सरकारले सवारी साधन आयात खुला नगरेको कारण अन्तिम समयमा रोकिएको बताउनु भयो । उहाँले अहिले नेपालको अटो उद्योग नै धरासायी र कठिन मोडमा पुग्ने अवस्थामा पुगेको बताउनु भयो । अध्यक्ष थापाले धरासायी बन्न लागेको अटो मोवाईल क्षेत्रलाई चलायमान बनाउनको लागि इभी एक्स्पो गर्न लागेको बताउनु भयो । उहाँले अहिले नेपालमा विद्युतीय सवारी साधनको अत्याधिक माग रहेको बताउनु भयो । उहाँले अटो व्यवसायीहरुले माग अनुसार विद्युतीय सवारी साधन दिन नसकेको बताउनु भयो । उहाँले अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको बताउनु भयो । अध्यक्ष थापाले अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने बताउनु भयो ।
अध्यक्ष थापाले सरकारको अटो मोबाईल तथा विद्युतीय सवारी साधनसम्बन्धी नीतिहरु अस्थिर रहेको बताउनु भयो । उहाँले पछिल्लो दुई वर्षमा चार पटक विद्युतीय सवारी साधनको भन्सार महशुल तथा राजश्वमा परिवर्तन भएको बताउनु भयो । उहाँले सरकारको अस्थिर नीतिको कारण अटो व्यसायीहरु विद्युतीय सवारीमा लगानी गर्न डराई रहेको अवस्था रहेको बताउनु भयो । अध्यक्ष थापाले नाडाको यातायातका साधनलाई विलासिताको वस्तु नभएर अत्यावश्यक वस्तुमा राख्न गरेको माग बजेटमार्फत सम्बोधन भएको बताउनु भयो । उहाँले सरकारले अहिले विद्युतीय सवारी साधनमा बढाएको भन्सार दर घटाउनु पर्ने बताउनु भयो । विद्युतीय सवारी साधनको लागि सरकारले स्थिर नीति बनाए विद्युतीय एसेम्बल उद्योग खोल्नसमेत तयार रहेको अध्यक्ष थापाको भनाई छ ।
नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी रहने एक्स्पो चार दिनसम्म चल्नेछ । वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन गर्दै आयोजना गर्न लागिइएको एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा प्रवेश गर्दा विद्यार्थीका लागि टिकट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गइ देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको छ । एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहनेछन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीड-भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एपमार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

Spread the love