निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निणर्य भएको शहरी विकास मन्त्रीको आरोप

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निणर्य भएको आरोप लगाउनुभएको छ । शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्चले गरेको यो निणर्य कुन आधारमा टेकेर गरेको निणर्य हो भन्दै प्रश्न गर्नुभयो । उहाँले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निणर्य भए त्यसको विकल्प खोज्न सकिने तर यो निणर्य कसैको प्रभावमा आएर गरेको निणर्य भएको आरोप लगाउनु भयो । मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए ंसदमा आएर फेस गर्नसमेत चुनौति दिनुभयो । उहाँले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निणर्य गरेको हो भने मात्रै सर्वोच्चको यो निणर्य सही हुनसक्ने बताउनु भयो ।
मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाउनु भयो । उहाँले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताउनु भयो । उहाँले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्नेभन्दै व्यंग्य गर्नुभयो ।
मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गर्नुभयो । उहाँले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेको आरोप लगाउनु भयो ।

Spread the love