निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छ ः निजी क्षेत्र

निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सिमित गरेको आरोप लगाउनु भयो । उहाँले मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र समेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिएको बताउनु भयो । अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनैपनि पार्टी गम्भिर नभएको बताउनु भयो । उहाँले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गर्नुभयो । अध्यक्ष गोल्छाले राजनीतिक दलहरु सिमित राजनीतिक एजेण्डाहरुमा मात्रै नभइ सिमित एजेण्डा भन्दा माथि उठेर पूर्वाधार विकास गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकार आवश्यक भएको बताउनु भयो ।
त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्वको सरकार हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने बताउनु भयो । उहाँले देशमा समृद्धि कायम गर्न मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा परिसंघ रहेको बताउनु भयो । उपाध्यक्ष अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व सरकारमा जानको लागि सबल र सक्षम उम्मेद्वारले निर्वाचन जित्नुपर्ने बताउनु भयो । उहाँले मंसिर ४ गतेको निार्वाचनमार्फत नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न निजी क्षेत्रसँग सहकार्य गर्न पार्टीको नेर्तत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।
उपाध्यक्ष अधिकारीले मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यक्ता भएको दाबी गर्नुभयो ।

Spread the love