नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूणर् माध्यम बन्न सफल भएको छ । यो अवधिमा इसेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको कम्पनीको दाबी छ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको कम्पनीले जनाएको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट रहेका कम्पनीले जनाएको छ । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।
आगामी दिनमा इसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजाने कम्पनीले जनाएको छ ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेको छ ।

Spread the love