नेपालमा अबको समस्या मल भण्डारण र वितरण : कृषि मन्त्रालयका सचिव

असोज ११,काठमाडौं ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताउनुभएको छ ।

सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताउनुभएको हो । उहाँले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताउनुभयो । उहाँले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताउनुभयो ।

उहाँले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताउनुभयो । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै मल दिएको बताउनुभयो । उहाँले मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने बताउनुभयो । कृषि सचिव आचार्यले सबैलाई राम्रो काम गरेर देखाउन पनि अनुरोध गर्दै कृषकहरुलाई आवश्यक मल र हाल्ने प्रक्रिया सिकाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औँल्याउनुभयो । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उहाँले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरु भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गर्नुभयो । उहाँले मलखाद सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो बनोस् भन्ने सुनाउँदै अनुशासित र इमान्दार भएर कृषकको सेवामा लाग्नुपर्ने आँैल्याउनुभयो । उहाँले सबैलाई समेटेर प्रादेशिक समूह बनाउन पनि मलखाद संगठनलाई अनुरोध गर्नुभयो ।

प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिनुभयो । उहाँले बिक्री वितरणमा सुशासन महत्वपूर्ण पाटो भएको बताउँदै उहाँले उक्त जिम्मेवारी बोध गरेर निर्देशिका बमोजिम कम्युटरकृत गर्नुपर्ने बताउनुभयो ।

 

Spread the love