नेपाल आयल निगमले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिट्टै दुईथरि मूल्य तोक्ने बताउनुभएको छ । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोकेर जाने बताउनु भयो । कार्यकारी निर्देशक थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि बताउनु भयो । उहाँले ग्यासमा दोहोरो मूल्य कायम गर्नुको लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समितिले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
एलपी ग्यास यो कुकीङ ग्यास हो । जनताको चुलोसँग जोडिएको हो । हामी पनि अत्यन्त गम्भीर छौं । अहिले नेपाल आयल निगमको दुई हप्ता अगाडिको सञ्चालक समितिको बैठकले ग्यासमा दोहोरो मूल्य कायम गर्नुपर्छ भन्ने हेतुले गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समिति बनाएको छ । त्यो समितिले तीव्रगतिमा अध्ययन गरिरहेको अवस्था छ । समितिको प्रतिवेदन आएपछि सञ्चालक समिति बसेर दोहोरो मूल्य कामय गर्ने गरी अगाडि बढेका छौं । रातो , हरियो र नीलो सिलिण्डरको कुरा मात्रै गरियो । तर अब के हो भने रङको कुरा मात्रै होइन, ४०० सय केजीसम्मको ग्यासको सिलिण्डर आउने अन्तर्राष्ट्रिय प्रचलन छ । साइज, स्माइल र रङको कुरा छ । त्यसमा स्माइल पनि परिवर्तन गर्ने हो । एलपी ग्यास दोहोरो मूल्यमा जाने तयारीमा छौं । हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने ,औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने हो ।’
कार्यकारी निर्देशक थानीले अर्थ मन्त्रालयले आयल निगमलाई पठाएको पत्रअनुसार चालु आर्थिक वर्ष सम्मको लागि पूर्वाधार करमा १० रुपैयाँ कर घटाएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयको पत्रअनुसार नै निगमको सञ्चालक समितिले प्रतिलिटरमा १० रुपैयाँ घटाउने निणर्य गरेको बताउनु भयो । थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको बताउनु भयो । उहाँले अब आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताउनु भयो । कार्यकारी निर्देशक थानीले पेट्रोल अहिले पनि प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटारहेको बताउनुभयो । उहाँले २०७१ साल देखि नै परल मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने अवस्था रहेको बताउनु भयो ।

कार्यकारी निर्देशक थानीले आयल निगमले जेठ महिनामा आईतवार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गर्नुभयो । थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताउनु भयो ।
त्यस्तै, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले हाल स्वाचालित मूल्यअनुसार बिक्री गर्दा पेट्रोलको मूल्य १९९ रुपैयाँ कायम भएको बताउनु भयो । उहाँले निगमले आईसीलाई २२ अर्ब दिन बाँकी रहेको भन्दै उक्त रकम भुक्तानी नभएसम्म आईसीसीले तेल दिन्न भन्न थालेको बताउनु भयो ।
सचिव पाण्डेले सरकारले उपभोक्तालाई कसरी सहज र सुपथ मूल्यमा पेट्रोलियम पदार्थ वितरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताउनु भयो ।

Spread the love