नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघ भित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताउनु भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । महासंघ भित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूणर् भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफुले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफु विगत देखि नै लागि परेको बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सँधै पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताउनुभयो । अबपनि महासंघमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफुहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवासयीहरुले बताए ।

Spread the love