नेपाल राष्ट्र बैंकद्धारा ६ वटा बाणिज्य बैंकहरुलाई कारवाही

असार १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले नीजि क्षेत्रका ६ वटा बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । बैंकका नीति पालना नगरेको भन्दै ति बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

आर्थिक वर्ष २०७७\७८ मा नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले त्यस्ता वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आवमा कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको छ भने ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरूको उल्लंघन गरेको भन्दै लक्ष्मी बैंकलाई २० लाख रुपयाँ जरीवाना तिराएको छ । यस्तै, सिभिल बैंकलाई १० लाख रुपैयाँ बराबरको जरीवाना लगाएको छ । बैंकले गरेको कारोबार शंकास्पद देखिएर सम्पत्ति शुद्धीकरण ऐन तथा निर्देशन उल्लंघन गरेको देखिँदा पनि सम्बद्ध बैंकले केन्द्रीय बैंकमा रिपोर्टिङ गरेन भने जरीवाना तिराउने गरेको छ । यस्तो उल्लंघनको न्यूनतम जरीवाना १० रुपयाँ लाख रहेको छ ।

यसअवधिमा प्राथमिकता प्राप्त क्षेत्र कर्जा प्रवाहको तोकिएको सीमा पूरा नगरेका वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाहीको दायरामा ल्याएको छ । उक्त शीर्षकमा तोकिएको सीमा पूरा नगरेकाले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना तिराएको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई सचेत रहन चेतावनीसमेत दिएको छ । विभागले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई समेत सचेत रहन भनेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सजाय स्वरूप शुरूमा बैंकको नियमन उल्लंघन गरेमा सचेत गराउने वा लिखित चेतावनी दिन पाउने व्यवस्था छ । यसअनुसार सुपरिवेक्षणको क्रममा देखिएको कमजोरीलाई राष्ट्र बैंकले औंल्याएर पहिलो चरणमा आवश्यकताअनुसार सम्बद्ध संस्था तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गरिएको बैंक सुपरिवेक्षण विभागले बताएको छ ।

 

 

Spread the love