नेपाल विश्वकै उत्कृष्ट ‘स्पोर्टस हब’ बन्नसक्छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सबै किसिमको वातावरण भएको भन्दै नेपाललाई विश्वकै ‘स्पोर्टस हब’ का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद-२०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नीतिगत रुपले पूर्वाधरको विकास गर्न सके नेपाल अन्तर्राष्ट्रिय स्तरमै खेलकुद हब बन्नसक्ने बताउनु भयो । सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले नेपालमा हिमालमा खेलिने खेलदेखि पहाड, तराई सम्मका खेलका लागि उपयुक्त वातावरण भएको भन्दै पूर्वाधार निमाणर् गरेमा नेपाल संसारकै निम्ति उत्कृष्ट खेलको हब हुनसक्ने बताउनुभएको हो ।
यस्तै प्रधानमन्त्री दाहालले संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको तोकेको तर त्यसअनुसार संघीय ऐनहरू बन्न नसकेको भन्दै छिटोभन्दा छिटो संघीय ऐनहरुलाई पूणर्ता दिने समेत बताउनु भयो । उहाँले खेलकुद क्षेत्रमा फड्को मार्नका लागि प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्नेमा जोड दिनुभयो । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको अवस्थामा खेलक्षेत्रलाई धेरे भन्दा धेरै बजेट पुर्‍याउँदै सुधार गर्ने अवसर आफूलाई भएको प्रधानमन्त्री दाहालले बताउनु भयो ।
प्रधानमन्त्री दाहालले कार्यक्रमबाट आएका सुझावलाई अध्ययन गर्दै नीति, कार्यक्रम र बजेटमा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक व्यवस्था गर्ने विश्वास दिलाउनु भयो । पछिल्लो समय नेपालले खेलकुद प्राप्त गरेको सफलताले खेलक्षेत्रमा फड्को मारेको भन्दै दाहालले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता समेत जनाउनु भयो । यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, वागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, विभिन्न संघको पदाधिकारी, सञ्चारकमी लगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा हुनुपर्नेमा जोड दिएका थिए ।

Spread the love