नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ । सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह-२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा वचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताउनु भयो । उहाँले मुद्रालाई वचत गर्न जरुरी रहेको भन्दै वचतबाट नै आम्दानी बढ्ने दाबी गर्नुभयो । गभर्नर अधिकारीले मानिसहरुसँग भएको रकम वचत नगरे पनि खर्च हुने भएको भन्दै वचत गर्न अनिवार्य रहेको बताउनु भयो । उहाँले राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको जानकारी दिनुभयो । त्यस्तै गनर्भर अधिकारीले शेयरमा लगानी गर्नुपनि वचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताउनु भयो । उहाँले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा वचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताउनु भयो ।
आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमवारदेखि ग्लोवल मनी विक-२०२३ शुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्पmत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोवल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसैगरी, निजी विद्यालयका छाता सङ्गठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतनामुलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ । यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच बिस्तार भई स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

Spread the love