नेप्से परिसूचक ८० दशमलव २९ अंकले गिरावट,आइसीएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो

मङ्सिर १२ , काठमाडौ ।   नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षा पछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २ हजार ६५१ दशमलव ४९ अंकमा झरेको छ । शेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४/१२ करोडको नीति मौद्रिक नीतिको समिक्षमा संशोधन हुने अपेक्षा गरेका थिए । तर, मौद्रिक नीतिको समिक्षामा ४/१२ करोडको सीमा संशोधन नभएपछि शेयर बजारमा भारी गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जा ४ करोड देखि १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो ।

आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबारको शेयर कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १४ दशमलव १९ अंकले घटेर ५०१ दशमलव ४५ अंकमा झरेको छ । कारोबारमा सबै समूहको उपसूचक घटेका छन् । जसमा बैंकिङ समूहको ३४ दशमलव ९७, विकास बैंक २६७ दशमलव ०९, जलविद्युत १३२ दशमलव०२, फाइनान्स ६८ दशमलव ०८, निर्जीबन बीमा ३८५ दशमलव ९४, माइक्रोफाइनान्स १३९ दशमलव ४ र जीवन बीमा समूहको उपसूचक ५३८ दशमलव ०३ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको ८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबिआइ बैंकको २ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशत घटेको छ । प्राइम लाइफ, महालक्ष्मी विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ७/७ प्रतिशत घटेको छ । सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २३ करोड ४८ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८५ लाख, नेपाल टेलिकमको १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

 

Spread the love