पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा छ : पूर्वगभर्नर

फागुन २४,काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताउनु भएको छ ।

पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताउनुभयो । डा. नेपालले  चालु आर्थिक वर्षको सुरुवात देखि रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै बस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उहाँको भनाई छ । डा. नेपालले विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नितिगत सुधार समेत गर्न सक्ने अवस्था नभएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गर्नुभयो । उहाँले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्य समेत पूरा नहुने बताउनुभयो ।

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गर्नुभयो । उहाँले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताउनुभयो । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गर्नुभयो । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उहाँको भनाई छ ।

त्यस्तै पूर्वगभर्नर नेपालल रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताउनुभयो । उहाँले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिनु भएको छ । उहाँले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताउनुभयो । रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मुल्य बृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालले बताउनुभयो ।उहाँले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतिय खपतमा जोड दिनु पर्ने बताउनुभयो ।

पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताउनुभयो । उहाँले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिना देखि कम हुँदै गएकाले थप समस्या आउने बताउनुभयो । चालु आर्थिक बर्षको सात महिनामा मात्रै करिब ४२ अर्ब ५२ करोडको ४० लाख भन्दा बढीको कच्चा सोयाविन आयात भएको छ । जसमा युक्रेनबाट ७९ करोड ४७ लाखको कच्चा सोयाविन आयात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट सबै भन्दा बढी २७ अर्बको सायोविन आयात भएको छ । विभिन्न देशबाट ४२ अर्ब ५२ करोडको कच्चा पदार्थ आयात हुँदा १५ अर्ब ६३ करोड भन्दा बढीको सोयाविन तेल निर्यात भएको छ । त्यस्तै चालु आर्थिक बर्षमा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएकोमा ९ अर्ब ५१ करोड बराबरको कच्चा पदार्थ युक्रेन बाट मात्रै यात भएको छ ।

Spread the love