पानीको वैकल्पिक श्रोत पहिचान गरी काठमाडौंको समस्या समाधान गर्छु ः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताउनुभएको छ । सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । नेताा सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक श्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो । उहाँले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरु रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताउनु भयो । उहाँले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुनेपनि बताउनु भयो ।
नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु शहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनु भयो । नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार हुनुहुन्छ ।

Spread the love