पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन मिल्दैन : सुरेन्द्रकुमार पौडेल

पुष १९,काठमाडौं ।  नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताउनु भएको छ ।

आईतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताउनु भयो । उहाँले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र शर्तक रहेको बताउनु भयो । कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताउनु भयो । उहाँले अहिले सिनामंगलमा सेन्ट्रल ल्याब रहेकोले उक्त ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेको र सिनामंगलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त नरहेको दाबी गर्नुभयो ।

कार्यकारी निर्देशक पौडेलले नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताउनुभयो । उहाँले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढीसकेको बताउनु भयो ।

कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताउनु भयो । उहाँले आम नागरिकहरुको सहजकर्ताको रुपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । अध्यक्ष भट्टराईले पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयामहरुमा पनि ठूलो असर पर्ने बताउनु भयो ।सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबीसमेत गर्नुभयो ।

Spread the love