प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माको स्पष्टिकरण

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गर्नु भएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टिकरण दिनु भएको हो । उहाँले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताउनु भयो ।
अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटकपटक दोहोर्‍याउनु भयो । सरोकारवालाहरुको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाई थियो । अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताउनु भयो ।

Spread the love