फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ । शनिवार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताउनु भयो । उहाँले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताउनु भयो । उहाँले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताउनु भयो । उहाँले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताउनु भयो । उहाँले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताउनु भयो । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गर्नुभयो ।
मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्नु नहुने बताउनु भयो । उहाँले काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको बताउनु भयो ।

Spread the love