बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैनः अध्यक्ष हुमागाईं

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई स्वायत्त निकाय बनाउन माग गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष धितालले विज्ञापनसम्बन्धी सानातिना टिप्पणी लिएर मन्त्रालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्नपनि आग्रह गर्नुभयो । उहाँले विज्ञापन बोर्डमा बजेटको अभाव भएको भन्दै सरकारले बजेट अभावलाई पूर्ति गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायलाई नियमन गर्ने, विज्ञापन क्षेत्रको बढोत्तर गर्ने, विज्ञापन व्यवसायलाई परिष्कृत गर्ने र उन्नत स्तरको विज्ञापन क्षेत्र बनाउन बोर्डले आवश्यक भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले विज्ञापन बोर्डले आफ्ना पूर्वाधार निर्माण गरी व्यवसायीहरुसँग मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले विज्ञापनमा विज्ञापन बोर्ड प्रत्यक्ष सहभागी बन्नु नहुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन बोर्ड नितान्त स्वायत्तता भएको संस्था रहेको उल्लेख गर्नुभयो । उहाँले बोर्डको निणर्यमा सरकारको कुनैपनि हिसावबाट हस्तक्षेप नरहेकाले बोर्डलाई स्वतन्त्र छैन भनेर दुष्प्रचार नगर्न आग्रह गर्नुभयो । उहाँले विज्ञापन क्षेत्रमा रहेका सबैले एउटै धारणा बनाएर जानसके विज्ञापन व्यवसाय अझ बढी व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विज्ञापन बोर्डको आर्थिक हिसाव भने एक हिसावले सरकारले नै हेरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा बोर्ड आत्मनिर्भर बनेपछि सरकारबाट बजेट ल्याउनुपर्ने आवश्यक्ता नरहने पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताउनु भयो । अहिलेको सञ्चारमाध्यमको चामलाई बजार बिस्तार बिना धान्न नसकिने भन्दै विज्ञापनको बजार कसरी बिस्तार गर्ने भन्ने बारेमा सबैले सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले विज्ञापन बोर्डले विज्ञापन व्यवसायलाई कसरी मर्यादित, स्वच्छ र पारदर्शी बनाउने भन्ने एउटा मात्रै उद्देश्य लिएको बताउनु भयो । उहाँले विज्ञापन बोर्ड स्वायत्त निकाय भएकाले स्वायत्तता छैन भन्न नमिल्ने बताउनु भयो ।
अध्यक्ष हुमागाईंले विज्ञापन ऐनमा अपुग भएका कुराहरुलाई राष्ट्रिय नीतिमार्फत समेटेर अघि बढ्ने निणर्य बोर्डबाट भइसकेको र त्यसका लागि बोर्डले तयारी गरिरहेको बताउनु भयो । उहाँले विज्ञापन आचारसंहीता कार्यान्वयनका लागि बोर्ड अझैपनि तयारीको चरणमा रहेको बताउनु भयो ।

Spread the love