बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभयो । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताउनु भयो । उहाँले लघुवित्तका कारण कयौं गरिव जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गर्नुभयो । उहाँले लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको बताउनु भयो । उहाँले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गर्नुभयो ।
उहाँले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिर्वेक्षण कार्य र वित्तिय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताउनु भयो ।

Spread the love