बिजुली गइरहने समस्या आजबाटै समाधान हुन्छ : कुलमान घिसिङ

पौष १५,काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनु भएको छ ।

शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताउनु भएको हो । उहाँले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितीमा रहेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताउनु भयो । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताउनु भयो ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताउनु भयो । उहाँले केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरुले सब्स्टेशन बनाउन दिन आग्रह गर्नुभयो ।

Spread the love