बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा

पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बिहीवार सामान्य अंकले गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले गिरावट आएको छ ।
बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
बिहीवार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ । यता, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
बिहीवार नेप्सेमा गिरावट आएपनि सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३.१६ प्रतिशत बढेको छ । त्यस्तै,जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ । यता किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । बिहीवार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Spread the love