बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको व्यवसायीहरुको पक्षमा नीति बनाउने व्यवसायी समेत रहेका सांसदहरुको भनाइ

बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने काममा लाग्ने व्यवसायी समेत रहेका सांसदहरुले बताएका छन् । बिहीवार शपथग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताएका हुन् । उनीहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिनेगरी काम गर्ने बताए । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव,पुँजीगत खचर् ३५ प्रतिशत भन्दा कम हुने,कर्मचारीहरुलाई तलब ऋण गरेर खुवाउनुपर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताउनु भयो । उहाँले बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जाने क्रममालाई रोक्ने काममा लाग्ने बताउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निणर्य प्रक्रियामा काम गर्नुपर्ने बताउनु भयो ।


त्यस्तै, व्यवसायी समेत रहेका नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नती र निजी क्षेत्रको हीतका लागि काम गर्ने बताउनु भयो ।


त्यस्तै, मेडिकल व्यवसायी समेत रहेका नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको काम गर्ने बताउनु भयो । उहाँले कानून निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा पहल गर्ने बताउनु भयो । उहाँले आगामी पाँच वर्षमा सबै भन्दा पहिलो प्राथमिकता पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज स्थापना गर्ने रहने बताउनु भयो ।


त्यस्तै, शेयर लगानी कर्तासमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रका सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने बताउनु भयो । उहाँले शेयर बजारको बिस्तार विकासको लागि नियमन निकायहरुले बनाउन नसकेका नीतिगत व्यवस्थाहरु बनाउन पहल गर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि बनाउन बाँकी नीति नियमहरु बनाउन लाग्ने बताउनु भयो ।


त्यस्तै,अर्का व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्च रुपमा वृद्धि भएको बैंकिङ व्याजदरको विषयमा सदनका कुरा उठाउने बताउनु भयो । उहाँले बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको बताउनु भयो । उहाँले संसदमा ब्याजदर कम गरेर व्यवसायीहरुलाई राहत दिने काम गर्ने बताउनु भयो ।
उद्योगी व्यवसायीहरु समेत रहेका सांसदहरुले समग्र मुलुकभरका जनताका समस्या भन्दा पनि उद्योगी व्यवसायीका समस्या समाधान गर्न काम गर्ने बताउनु भयो । व्यवसायी सांसदहरुको आगामी दिनमा कस्तो भुमिका खेल्ने छ त्यो भने हेर्न बाँकी नै छ ।

Spread the love