मन्त्रीपरिषद्ले पास गरेको बजेट अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्तागठबन्धनमा तिक्तता शुरु

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रश्तुत बजेट मन्त्रीपरिषद्ले पास गरेको बजेट भन्दा फरक रहेको भन्दै सत्ता गठबन्धनले आपत्ति जनाएपछि बजेटमाथिको छलफल रोकिएको छ । गण्डकी प्रदेश सरकारका अन्य मन्त्रीहरुले प्रदेश संसदमा प्रश्तुत बजेटमा प्रदेश सरकारले पास गरेको बजेटलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नसमेटेको भन्दै असार ५ गतेका लागि बस्ने भनेको संसद बैठक बस्न नसकेको हो । मन्त्रीपरिषद्ले पास गरेको बजेट अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्तागठबन्धनमा तिक्ताता शुरु भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री बरालले संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय पत्रकारिता तालिम कार्यक्रममा बोल्दै आफूले मन्त्री परिषद् र नीति तथा कार्यक्रममा आएका योजनालाई समेटेर नै बजेट ल्याएको दाबी गर्नुभयो ।
उहाँले आगामी आव २०७९/०८० को लागि प्रश्तुत नीति तथा कार्यक्रममा समेत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएकाले बजेटमा नराखिएको बताउनु भयो । संसदमा बजेट प्रश्तुतपछि अन्य मन्त्रीहरुले मुख्य मन्त्रीको निर्देशन समेत पालना नगरेको आरोपप्रति खण्डन गर्दै आफूले कानूनानुसार नै बजेट ल्याएको बताउनु भयो । मन्त्री बरालले बजेटमा अंक र योजनाहरु संसदमा पेस नभएसम्म गोप्य रहने भएकाले बजेट प्रश्तुतपछि सबै बाहिर ल्याएको बताउनु भयो ।
गठबन्धनमा प्रमुख दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समेट्नुपर्नेमा अर्थमन्त्रीले ‘बद्मासी’ गरेको निस्कर्ष नै निकालेका छन् । गण्डकी प्रदेश सरकारले गत असार १ मा प्रश्तुत ३६ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

Spread the love