महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्छ ःमन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताउनुभएको छ । आईतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्युनिकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताउनुभएको हो । उहाँले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ-गाउँमा अभियान लिएर जानुपर्ने बताउनु भयो । उहाँले महिला हिंसा गाउँघरमा मात्रै नभइ शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनु भयो । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले पनि महिला हिंसाको बिरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उहाँको भनाई छ ।
मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताउनु भयो । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उहाँले बताउनु भयो । उहाँले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले ९५ प्रतिशत घरमा कुनै न कुनै रुपमा महिला हिंसा हुने गरेको बताउनु भयो । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भएपनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उहाँको भनाई छ । मन्त्री रेग्मीले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

Spread the love