मास्क नलगाइ हिँड्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

माघ ५,काठमाडौं । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।

बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताउनु भयो । उहाँले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई १०० रुपैयाँको कारबाही गरिएको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गर्नुभयो ।

 

Spread the love