मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल

असोज १७,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताउनुभएको छ ।

बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोश्रो साधारण सभालाई सनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्र मैत्री नरहेको बताउनु भएको हो । पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौँ कन्टेनर बोर्डरमा अलपत्र परेका ढकालले बताउनुभयो । सरकारले निजी क्षेत्रसँग जोडिएका कुनै पनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘‘सरकारले बनाउने नीतिले दीर्घकालीन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्छ, जसले देशको उद्योग व्यवसाय फस्टाउन सकोस् र निजी क्षेत्रको पनि हित गर्न सकोस ।’’

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले सरकारले वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता नदिँदा स्थानीयबासी र उद्योगीबीच सधैँ विवाद हुने गरेको बताउनुभयो । उहाँले सरकारले औद्योगिक क्षेत्र र वाबसोबास क्षेत्र छुट्टयाइदिनुपर्नेमा त्यसो हुन सकेको गुनासो गर्नुभयो ।

मुलुकको राजश्व र रोजगारीमा यहाँका उद्योगले पु¥याएको योगदानालाई सरकारले कदर नगरेको लाठको भनाइ थियो । आजबाट सुरु भएको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतःअध्यक्ष हुनेछन् भने बरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रकृया सुरु भएको जानकारी दिइएको छ ।

Spread the love