मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता छ ः अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनु भएको छ । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनु भएको हो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताउनु भयो । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परिक्षण गर्न आग्रह गर्नु भयो । उहाँले यस्तो कुराहरुको लेखा परिक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताउनु भयो । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेको दोहोर्‍याउनु भयो ।

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परिक्षण गर्नु पर्ने बेला भएको बताउनु भयो । उहाँले विगतमा लेखा परिक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताउनु भयो । अब मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उहाँले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परिक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताउनु भयो । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परिक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परिक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताउनु भयो ।

अर्थमन्त्री शर्माले विगतमा लेखा परिक्षणमा कहाँ-कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताउनु भयो । लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने बताउनु भयो । उहाँले लेखा परिक्षण गर्ने परिक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराउनु भयो ।

Spread the love