मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न नगराउन सचेत

निर्वाचन आयोगले आज राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधरणलाई सचेत गराएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि (स्थिर समय ) मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, तीनका उम्मेदवार लगायत सर्वसाधरणलाई सचेत गराउनु भयो । मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूणर् रुपमा निषेध गरिएको उहाँले उल्लेख गर्नु भयो ।
उहाँले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी समेत दिनु भयो । निर्वाचन आयुक्त भण्डारीले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आह्वान समेत गर्नुभयो ।

Spread the love