युनियन लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्न अनुमति पायो

असार १४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति दिएको छ । बोर्ड नियामक निकाय हो ।

बोर्डले दिएको अनुसार कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न असार १३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । निवेदन दर्ता गरेको एक महीनामै कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको हो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

 

Spread the love