राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमण गरी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किनुभएको हो । आइसल्याण्ड भ्रमणमा रहनुभएकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको थियो । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले गत बुधवार राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो । डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच-मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गर्नुभएको थियो ।
आइसल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग पनि भेट गर्नुभएको थियो । आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहीत सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूणर् समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रवन्धहरुमा लगानी गरिरहेको बताउनुभएको थियो । उहाँले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको बताउनुभएको थियो । नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको र सबै प्रकारका लैङ्गिक हिंसा, पूर्वाग्रह, तथा कुरीतिबिरुद्धको लडाई जित्न बाँकि नै रहेको उल्लेख गर्दै नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारी गत सोमवार आइसल्याण्ड प्रस्थान गर्नुभएको थियो ।

Spread the love