राष्ट्रबैंकले गर्यो कोरोनाको औषधि मगाउँदा टिटिको थ्रेसहोल्डमा नयाँ व्यवस्था

३० हजार डलरमात्रै पाईनेमा अब १ लाख डलरसम्मको भुक्तानी टिटि बाटै गर्न सकिने

नेपाल राष्ट्र बैंकले कोरोना भाईरसको उपचारमा प्रयोग गरिने औषधि तथा उपकरणको आयातमा १ लाख डलरसम्म टिटिबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्रबैंकले एक परिपत्र जारी गर्दै पछिल्लो निर्देशनलाई शंसोधन गरि त्यस्तो व्यवस्था लागु गरिएको जनाएको हो ।
यस अघि टि टि बाट अधिकतम ३० हजार डलरसम्म मात्र भुक्तानी गर्न पाउने व्यवस्था रहेकोमा हालका लागी राष्ट्रबैंकले कोरोनाको औषधिको हकमा व्यवस्था खुकुलो पारिदिएको हो । राष्ट्र बैंकले परिपत्रमा स्वास्थ्य सेवा विभागको सिफारिसमा १ लाख डलरसम्मको भुक्तानी गर्न सकिने जनाएको छ । त्यसैगरि अन्य सामान वा वस्तुको आयातमा भुक्तानी रकमको १० प्रतिशत अनिवार्य बैंकमा डिपोजिट राख्नुपर्ने व्यवस्था रहेकोमा कोरोना सम्बन्धि औषधि तथा उपकरणको हकमा भने सो व्यवस्था समेट हटाएको छ । अब कोरोना सम्बन्धि औषधि वा उपकरण आयात गर्ने व्यवसायीले १० प्रतिशत धरौटि विनै पनि आयात गर्न सक्ने भएका छन् ।
त्यसैगरि १ लाख डलर भन्दा माथिको रकम भुक्तानी गर्नुपर्ने भएमा समेत राष्ट्रबैंकले स्वीकृति दिने निर्देशनमा जनाएको छ । तर त्यसका लागी भने स्वास्थ्य सेवा विभागको सिफारिस अनिवार्य गरेको छ । अघिल्लो व्यवस्था अनुसार २५ हजार भन्दा बढिको टि टि पठाउनु परेमा रकम पाउने कम्पनीको बिजनेश क्रेडिविलिटि ईन्फर्मेसन (व्यापारिक हैसियत तथा विश्वसनीयता) अनिवार्य गरेकोमा सो समेत नपर्नेगरि राष्ट्रबैंकले निर्देशन जारी गरेको छ ।

Spread the love