लकडाउन सुरु भएयता नेपाल एयरलाइन्सद्धारा ६१ चार्टर्ड उडान

नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम गरिराखेको छ । लकडाउन सुरु भएयता मंगलबार बिहान सम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ । विमानमा यात्रा गर्दा कोभिड-१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु भने विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको एयरलाइन्सले बताएको छ।
नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख.दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताउनुभएको छ । उहँले यात्रुसग सकेसम्म सम्पर्क कम होस भन्ने उद्देश्य अनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिनुभयो । यस्तै विमान भित्र कुनैपनि यात्रुलाई कोरोना भाइरस (कोभिड-१९)को लक्षण देखा परेमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था विमान भित्रै गरिएको जुहारचनले बताउनुभयो ।

लकडाउनको अवधिमा नेपाल एयरलाइन्सले कार्गो पठाउने र भित्र्याउने काम पनि राम्रो पाएको छ । यस्तै यो अवधिमा करिब २० हजार यात्रु नेपाल भित्रिएको जुहारचनले बताउनुभयो । नेपाल एयरलाइन्सका पाइलत सुरज भण्डारीले कुनैपनि उडान भर्दा गम्भिरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताउनभयो । उहाँले कोरोना भाइरसको सम्बन्धमा सम्पूणर् जानकारी राखिएकाले कुनै डर नभएको बताउनुभयो । नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्न परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भिरतापूर्वक सावधानी अपनाइएको उहाँले बताउनुभयो ।
भण्डारीले नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युअर बनाएको र त्यहि अनुसार नै काम गरिएको बताउनुभयो । ति सबै जानकारीलाई सही तरिकाले प्रयोग गर्न आफुहरुले ध्यान दिएकोले कुनै असुरक्षाको महसुस नभएको भण्डारीले बताउनुभयो । उहँले एकजना पाइलटले दिनमा एक वटा मात्रै उडान गरिराखेको बताउनुभयो । पाइलटलाई थकान नहुने गरी तालिका मिलाइएको बताउनुभयो ।

पाइलट भण्डारीका अनुसार विदेशको एयरपोर्टमा भन्दा नेपालको एयरपोर्टमा बढी स्वास्थ्य सावधानीका विधिहरु अपनाइएको बताउनुभयो । उहाँले पाइलट, परिचारिका लगायत सबै कर्मचारीलाई होटल क्वारेन्टाइनमा राखिएकाले भाइरस सर्छ भन्ने कुनै सम्भावना नरहेको बताउनुभयो । त्यसका लागि भौतिक दुरी कायम गर्ने, पीसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु कम्पनीले दिने भएकाले संक्रमण फैलिने कुनै जोखिम नभएको बताउनुभयो । उहँले महामारीको अवस्थामा आफै अनुशासित बन्नुपर्ने बताउनुभयो । उडानको क्रममा गर्न हुने र गर्न नहुने सम्बन्धमा नेपाल एयरलाइन्स, डब्लुएचओले दिइको निर्देशिका अनुसार काम गरिएको उहाँले बताउनुभयो । विमानकी परिचारिका शोनिका केसीले सामान्य अवस्थामा भन्दा अहिले मनोविज्ञानमा फरक पर्ने गरेको बताउनुभयो । यात्रुसँग बोल्दा, सिकाउँदा, साबधानी अपनाएर काम गर्नुपरेकाले केही फरक महसुस भइरोखेको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थाको बारेमा सबै यात्रु जानकार हुने भएकाले पनि काम गर्न सजिलो भएको बताउनुभयो । यात्रुहरु पनि आफै सुरक्षित हुने हुँदा डर मान्नु नपर्ने तर अझैपनि सकेसम्म धेरै सम्पर्कमा नआउँ भन्ने मानोविज्ञानले काम गर्ने बताउनुभयो तुलनातमक रुपमा विदेशी एयरलाइन्सहरु भन्दा नेपालको एयरलाइन्समा कुनै कमि नभएको परिचारिका केसीले बताउनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हवाई उडान पनि बन्द रहेको थियो । तर पछिल्लो समय विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वादेश फिर्ता ल्याउने भएपछि भने नेपाल एयरलाइन्सले चार्टड उडान मार्फत बिजनेस पाएको हो ।

विश्वभर कोरोनाको संक्रमण फैलिएको अवस्थामा विभिन्न मुलुकमा चार्टड उडान गर्नु निकै जोखिमपूणर् छ । यस्तो अवस्थामा एयरलाइन्सका पाइलट तथा परिचारिकाहरुले कसरी स्वास्थ्य सतर्कता अपनाइरहेका छन त्यो महत्वपूणर् हुन्छ । त्यसैले अहिले सम्म नेपाल एयरलाइन्सले अपनाएका सावधानीहरु विश्वका अरु एयरलाइन्सहरुले गरेका सावधानी जत्तिकै रहेको एयरलाइन्सका कर्मचारीहरुले बताएका छन् । त्यसैले जुलाई ८ देखि नेपाल एयरलायन्सले युएन को फ्लाइट गर्ने तयारी समेत गरेको छ ।

उडान सकेपछि पाइलट तथा परिचारिका लगायत अन्य कर्मचारीहरु एयरपोर्टबाट सिधै घर नगई एयरलाइन्सले व्यवस्थापन गरेको होटल क्वारेन्टाइनमा बस्नुपर्छ । नेपाल एयरलाइन्सले पाइलट तथा परिचारिकाका लागि सोल्टी होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । होटल आफै एयरपोर्टमा लिन जाने र होटल पुगेपछि पनि सबै सामानहरुको स्यानिटाइज गरी सावधानी पूर्वक होटलको कोठामा गएर बस्ने व्यवस्था गरिएको छ ।

Spread the love