वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०/२२ दिन भित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको हो । स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । गृह सचिव सिंहले अवरुद्ध भएको विद्युत र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई ढिलाई नगर्न सचेत गराउनु भयो । केन्द्रिय निकायहरुसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृह सचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देश गर्नु भयो ।
त्यसैगरी गृह मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह सचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरुको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । उहाँले चाहिने ठाउँमा सुरक्षाकर्मीको अभाव हुने र नचाहिने ठाउँमा बढि हुने अवस्था आउन नदिन पनि जिल्ला प्रशासन कार्यालयहरु सचेत हुनुपर्ने बताउनु भयो ।
गृह सचिव सिंहले जिल्ला प्रशासन कार्यालयहरुले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित भएर आफ्ना गतिविधिहरु अघि बढाउनुपर्ने पनि बताउनु भयो ।

Spread the love