विकास निर्माणका काममा सरकार तमासा हेरेर बस्दैन ः मन्त्री नारायणकाजी श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभएको छ । शुक्रवार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताउनु भयो । उहाँले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहीत सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम शुरु गरिसकेको बताउनु भयो । मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रवार सम्बन्धित निकायहरुका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताउनु भयो । उहाँले सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भएपनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको छ खण्डमा सरकारले छुट नदिने बताउनु भयो । उहाँले सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने बताउनु भयो । सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढंगले काम गर्नेपनि बताउनु भयो । उहाँले गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा जान सरकार नहिच्किचाउने बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिवद्धता भएको पनि बताउनु भयो ।

Spread the love