विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा शुरु गर्दैछौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलवार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल-चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा शुुरु गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गर्नुभयो । उहाँले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । उहाँले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाँले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका बिरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पन िदुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताउनु भयो । उहाँले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र बिस्तर हुने विश्वास व्यक्त गर्नुभयो । दुईपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताउनु भयो । उहाँले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि बताउनु भयो । उहाँले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्नेसोच बनाएको बताउनु भयो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदुत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजदुत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल शुरु भएको हो । करिव ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो । बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।

Spread the love