विराटनगर भन्सारमा श्रमिक हड्तालको चेतावनी

मङ्सिर ७,काठमाडौं ।  विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन ।

आइसिपीले श्रमिक तथा मजदुरहरुलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजबादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखी भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका ईकाई अध्यक्ष शम्भु कुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिनुभयो । उहाँले संघकै अगुवाईमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरु अनुसारका मागहरू राखिएको भएपनि मागको सम्बोधन नभएको बताउनुभयो ।

समाजबादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राख्नुभयो ।युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीका खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले श्रम स्विकृति नलिई आइसिपीमा बिदेशी कामदारहरुलाई लगाइएको समेत बताउनुभयो ।

आइसिपीमा नेपाल र भारतका गरी करिव ३ सय श्रमिकहरु कार्यरत छन । श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सृजना भएको संघले जनाएको छ ।

Spread the love