विश्वका सबैभन्दा धनी बेजोस अन्तरिक्ष यात्रामा आज जाँदै

साउन ५, काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति तथा अमेरिकी अनलाइन खुद्रा विक्रेता कम्पनी अमेजनका पूर्वसीईओ जेफ बेजोस आज मंगलवार पहिलो पटक अन्तरिक्ष यात्रामा जाँदैछन् ।

उनी निजी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फड मार्फत् अन्तरिक्ष यात्रामा जान लागेका हुन् । टेक्सास स्थित भानहर्न स्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उनी सहितका यात्रुलाई लिएर मंगलवार स्थानीय समय अनुसार बिहान नौ बजे न्यु शेफर्ड रकेट अन्तरिक्ष यात्रामा उड्नेछ ।

उक्त अन्तरिक्ष यात्रामा उनका भाई मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेनसमेत रहनेछन् ।

उनीहरु अन्तरिक्षमा एक क्याप्सुलभित्र रहनेछन् जसको विशाल झ्यालबाट पृथ्वीको अद्धितीय दृश्य हेर्न पाउनेछन् । ब्लु ओरिजिनले तयार गरेको न्यु शेर्फड यान अन्तरिक्ष पर्यटनको अत्यधिक सम्भावनालाई सवैमा शेयर गर्नका लागि डिजाइन गरिएको बताइएको छ ।

अन्तरिक्ष उडानबाट आफू निकै उत्साहित रहेको बेजोसले बताएका छन् । रकेटभित्र रहेको क्याप्सुलमा रहेर यात्रुहरु पृथ्वीभन्दा १०६ किलोमिटरमाथि पृथ्वीको कक्षीय क्षेत्रमाथि पुग्नेछन् । पृथ्वीमा अवतरण भने उनीहरुले प्यारासुटबाट गर्ने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् । बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । उनको नेटवर्थ १ खर्ब ६४ अर्ब डलरभन्दा बढी छ ।
(स्रोतः अन्तराष्ट्रिय समाचार एजेन्सी)

 

 

 

Spread the love