वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी

साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रिय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरुमा वृहत पुस्तक प्रदर्शनी गरिरहेको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गते (हिजो) सम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । हालसम्म प्रदर्शनीमा करिव १ हजार जनाभन्दा बढी मानिसहरुले अवलोकन गर्नुभएको उहाँले बताउनु भयो । उहाँले प्रदर्शनीबाट मुख्यगरी इतिहासका पुस्तकहरु धेरै बिक्री भइरहेको पनि बताउनु भयो ।

प्रदर्शनीमा आफ्नो रुची अनुसारका पुस्तकहरु खोज्दै दैनिकहरुमा मानिसहरु आइरहेका उहाँको भनाई छ । पुस्तक प्रदर्शनीमा पुस्तक लिन पुग्नुभएकी पूणर्िमा गिरी आफूले हाल पुराना लेखकहरुको पुस्तक पढीरहेको र सोही अनुरुपका पुस्तकहरु लिनका लागि प्रदर्शनीमा आएको बताउहुन्छ । उहाँले डिजिटल प्रविधिका कारण युवा पुस्ताहरुमा पठन संस्कृति कम हुँदै गएको सुनिएपनि भित्रि मनदेखि नै पढ्नुपर्छ भन्ने भावना बोकेकाहरुले पुस्तक पढ्ने गरेको धारणा राख्नुभयो । त्यस्तै पुस्तक प्रदर्शनीमा पुस्तक खरिदका लागि पुग्नुभएका सीताराम बडालले आफू प्रदर्शनीमा उपलब्ध भएका कितावहरुको आधारमा खरिद गर्ने पुस्तक छनौट गर्ने बताउनु भयो । आफ्नो ज्ञानको क्षमता बढाउनका लागि पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरु पनि पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले देशको कला , सस्कृति, साहित्य र इतिहासको बारेमा ज्ञान लिनु आवश्यक रहेको बताउनु भयो । साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी केन्द्रिय कार्यालय पुल्चोक र प्रदर्शनीमार्गसँगै धरान, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, त्रिशुली, भरतपुर, पोखरा, बुटवल, दाङ र धनगढीका साझा प्रकाशनका बिक्री कक्षहरुमा पनि चलिरहेको छ । पुस्तक प्रदर्शनी पुस ३० गतेसम्म चल्नेछ ।

Spread the love