व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा आायेजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो । उहाँले संसारका कुनै राज्य प्रणालीमा बजेट बनाउनुपूर्व व्यापारीका प्रतिनिधि राखेर बनाउने प्रचलन नरहे पनि नेपालमा कमिसन खाएर बजेट निर्माण गर्ने प्रणालीको खिल्ली उडाएको बताउनु भयो । अध्यक्ष ओलीले बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्ने भएपनि अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिएको बताउनु भयो ।उहाँले यापारीसँग सेटिङ मिलाएर करका दर तोकिएको भन्दै बजेट बनाउँदा नै व्यापारिहरु बोलाएर बनाएकोप्रति आपत्ति जनाउनु भयो ।
अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरु पार्टीले दिएको ओहोदा, सुविधाहरु उपभोग गरेर पार्टीको कसरी अपमान, बेइज्ज्त गरिरहेको बताउनु भयो । केही समयअघि उपाध्यक्ष भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको बिरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा बिस्थापित र धाँदली गर्न लागिपरेको बताउनु भयो । अध्यक्ष ओलीले पार्टीमा गरेको गद्धारीको हिसावकिताव समयक्रममा हुने चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर वाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि बिरुद्धमा अगुवाई गरिरहेको बताउनु भयो । उहाँले देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्नपनि निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेलाई हराउन बिरोधी नसक्ने दाबी गर्दै आफ्नै पार्टीबाट चुनावमा हराउन सकुनी, मिर जाफर र मिर काशिमहरु निस्किएको बताउनु भयो । उहाँले जनताले स्थानीय तहमा पार्टीले गरेका कामहरुलाई हेरेर मतदान गर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरुले उदाहरणीय काम गरेर देखाउन निर्देशन दिनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा एमाले आफ्नै कमजोरीका कारण हारेको बताउनु भयो । उहाँले कमजोरी सच्याएर अघि बढेको भए पार्टीले थप ८८ सिट जित्ने उल्लेख गर्दै नेकपा एमाले नै पहिलो पार्टी बन्नेमा द्विमत नरहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले जनमतका हिसावमा अझै एमाले पहिलो पार्टी भएको दाबी गर्दै बुथ कब्जा, उम्मेदवारहरु गिरफ्तार, राज्य शक्तिको दुरुपयोग, पैसाको चलखेल नभएको भए एमाले नै पहिलो पार्टी बन्ने बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा नाङ्गो धाँदली भएको भन्दै गठबन्धनले चुनावमा राज्य शक्तिको दुरुपयोग, अनैतिकता, भ्रष्टता र अलोकतान्त्रिक तमासा देखाएको बताउनु भयो । उहाँले अब आउने निर्वाचनपनि एमालेको पक्षमा जान्छ भनेर गठबन्धनले विभिन्न योजना बनाइरहेको बताउनु भयो ।
अध्यक्ष ओलीले नाम हाईहाई हुने गरी र आलोचना सुन्ने नगरी काम गर्नपनि स्थानीय जन प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले ५ दलीय गठबन्धन र एमालेमा कुमति र सुमतिको फरक रहेको भन्दै गठबन्धनलाई कुमतिको संज्ञा दिनुभयो । अध्यक्ष ओलीले जनताको स्थानीय तह सदस्य निर्वाचनमा कुप्रचार, षड्यन्त्र, जालझेल, अपहरण, हत्या, कुटपिट, बुथ कब्जा गर्ने जस्ता अपराधिक क्रियाकलापहरु राज्यको योजनामा, राज्यशक्तिको कुपरिचालन गरेर र राज्यशक्तिको दुरुपयोग गरेर भएको बताउनु भयो । उहाँले निर्वाचनमा पैसाको व्यापक वितरण भएको भन्दै नेकपा एमालेले अधिनायकवादी, तानाशाही, दमनकारी शासनको बिरुद्ध लड्नुपरेको बताउनु भयो ।

Spread the love