संसदीय छानबिन विशेष समितिले आज निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने

संसदीय छानबिन विशेष समितिले बिहीवार निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूणर् पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताउनु भयो ।
सचिव अर्यालले छानबिनको लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताउनु भयो । उहाँले समितिको म्याद थप गर्ने विषयमा छलफल भएपनि दिन किटान नगरिएको बताउनु भयो । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिएपनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ ।

Spread the love