संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूणर् भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरुलाई जोगाइराख्न त्यसमा सम्वद्ध गुठीहरुलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरुको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताउनु भयो ।

Spread the love