सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँ ः स्वास्थ्यमन्त्री गिरी

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताउनुभएको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूणर् ध्यान केन्द्रित गर्ने बताउनुभएको हो । उहाँले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताउनु भयो । उहाँले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताउनु भयो ।
मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताउनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी पहिलो निणर्य गरिएको जानकारी दिनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पुर्‍याउनका लागि मापदण्ड बनाएको बताउनु भयो । त्यस्तै वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उहाँले बताउनु भयो । उहाँले पनि आम नेपालीको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनेगरी काम गर्ने बताउनु भयो ।

Spread the love