समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूणर् आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ । आंशिक प्राध्यापक संघका संरक्षक शशीकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भएपनि कार्यान्वयन नभएको बताउनुभयो । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाई छ ।
संघका प्रवक्ता मोहन घिमिरेले देशभरीका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भएपनि कार्यान्वयन नगर्ने प्रवृति देखिएकोले धर्नामा बस्नु परेको उहाँले बताउनुभयो । वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भएपनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको बताउनुभयो । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भएपनि काम अनुसारको पारिश्रमिक नभएको बताउनुभयो ।

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु पनि राखेको छ । प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् ।

Spread the love