समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छ ः कार्यवाहक राष्ट्रपति पुन

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल-चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनु भएको हो । उहाँले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताउनु भयो । उहाँले नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल-चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताउनु भयो । उहाँले अल्पविकशित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरुको भन्सार शुल्क शुन्य बनाउने चीनको नीति नेपालको लागि राम्रो अवसर हुनसक्ने बताउनु भयो । उहाँले नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्रको मुहार परिर्वतन हुने उल्लेख गर्नुभयो । कार्यवाहक राष्ट्रपति पुनले नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजजन्य सामग्री चीन निर्यातको ठूलो सम्भवना रहेको बताउनु भयो ।
कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीति प्रति संधै प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाईमा पुगेको बताउनु भयो । उहाँले पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएको बताउनु भयो ।
उहाँले नेपालले चीनसँग थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेको बताउनु भयो । उहाँले आर्थिक र कुटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

Spread the love