सरकारद्धारा फुटबल खेलाडीको सम्मान

पुस ६, काठमाडौँ ।   साफ फुटबल च्याम्पियन सिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगद सहित सम्मान गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गर्नु भएको हो । यस अघि १३ औं संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कार्तिक १ गतेको मन्त्रीपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

सोही अनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी हुनु भएको थियो । साफ फुटबलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

पुरस्कार वितरण पछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचय बनाउन खेलाडीले गरेको मिहिनेतप्रति आभार व्यक्त गर्नु भयो ।कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित हुनु भएको थिएन । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा ब्यवसायीक फुटबल खेल्न जानु भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपाल बाहिर रहनु भएको छ ।

Spread the love