सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताउनु भयो । त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउँदै स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तारका लागि सहयोग गर्ने भएको छ । सरकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ। सरकारले नेपालमा सर्वाधिक आयात हुँदै आएका वस्तुहरुको उत्पादन नेपालमा नै थाल्न वा बढाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ ।
त्यस्तै, सरकारले पाँचदेखि एघार वर्षका बालबालिकालाई कोभिड खोप लगाइने कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत पाँचदेखि एघार वर्षका बालबालिकालाई कोभिड खोप लगाइने भएको हो । सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा ८ कक्षासम्म विस्तार गर्ने भएको छ । यो भन्दा अघि ५ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था रहेको थियो । सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश, स्थानीय तहको सहकार्यमा सामुदायिक माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ । त्यस्तै कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम निर्माण गरी प्राविधिक तथा व्यवसायिक विषयलाईसमावेश गर्ने घोषणा गरको छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नको लागि पढ्दै कमाउँदै कार्यक्रम सरकारले थप विस्तार गर्ने भएको छ । यस्तै गुम्बा, मदरसा गुरुकुलले लगायतले सञ्चालन गर्ने शैक्षिक कार्यक्रममा दिँदै आएको अनुदानलाई विद्यार्थी संख्या र सञ्चालन तह कक्षासँग आवद्ध गर्ने सरकारले घोषणा गरेको छ । दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रुपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबािलकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

Spread the love