सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने व्यवसायीहरुकोे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताउनु भएको छ । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर,सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राख्नुभयो । वाणिज्य महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार व्यवसाय र विशेष गरेर उद्योगहरुलाई केही प्रोत्साहन दिने भनेपनि केही व्यक्ति विशेष र केही समूहलाई मात्रै प्रात्साहन हुनेगरी बजेट आएको बताउनु भयो ।
सरकारले उद्योगी व्यवसायीहरुलाई पक्षपात ढङ्गले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायीहरु सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाई छ । उहाँले बजेटपछि उद्योग व्यवसायी र शेयर लगानीकर्ता सडक आन्दोलनमा रहेकाले देशका शासक प्रशासकहरु नीति, विधि पद्धतीबाट विखलन भएर गएका हुन्की भन्ने महशुस भएको बताउनु भयो । यस्तो अवस्थाले व्यवसायीहरुलाई प्रात्साहन नहुने तथा व्यवसायीहरु नै पलायन हुने स्थिति आउने भन्दै शंका व्यक्त गर्नुभयो । उहाँले शासक, प्रशासकहरु नीति, विधि पद्धतीबाट विखलन हुने कार्य तत्काल रोकिनुपर्ने बताउनु भयो ।
त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताउनु भयो । उहाँले सरकारले आयातलाई नियन्त्रण नभएर व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । सरकारले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सस्तो र मूल्यमा प्रतिष्पर्धी वातावरणमा खरिद गर्ने सर्वमान्य अधिकार आयात नियन्त्रण गरेर हनन् गर्न नमिल्ने दाबी वरिष्ठ उपाध्यक्ष अग्रवालले गर्नुभयो । उहाँले आयात प्रतिस्थापन तत्काल छोटो अवधिमा सम्भव नभएको भन्दै दीर्घकालिन ठोस नीति र प्रतिस्पर्धि वातावरणले मात्रै आयात प्रतिस्थापन सम्भव भएको बताउनु भयो । पछिल्लो समय आयात नियन्त्रण गर्ने सरकारको नीतिले धेरै व्यवसायीहरुको मनोबल कमजोर बन्दै गएको उहाँको भनाई छ । वरिष्ठ उपाध्यक्ष अग्रवालले सरकारको आर्थिक नीति र राष्ट्र बैंकको मौद्रिक नीति दुवैले आयात व्यवसायलाई अनुत्पादक क्षेत्रको जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो । उहाँले ब्याजदरमा विदेशी ऋण लिएर पूर्वाधारको विकास गर्नु भनेको श्रीलंकाको अवस्थामा जाने भन्दै ब्याजदरमा विदेशी ऋण लगानीले प्रतिफल नदिने बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनैपनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको दाबी गर्नुभयो । सरकारले नै चीन सरकारसँग कुटनीतिक पहल गर्न नसक्दा चीन नाकामा व्यवसायीहरुलाई सामान आयातमा समस्या रहेको बताउनु भयो ।
नेता बस्नेतले नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीहरुको रहेको बताउनु भयो ।

Spread the love