सरकारी सम्पती प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैनः आयुक्त भण्डारी

निर्वाचन आयोगले सरकारी सम्पतीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतीको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताउनु भयो ।सरकारी सम्पतीको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहेपनि साधनश्रोत प्रयोगलाई आचारसंहीताले रोकेको बताउनु भयो । उहाँले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पतीको प्रयोग गर्न आचारसंहीतामा नै रोकिएको पनि स्पष्ट पार्नुभयो ।
निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहीताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने विश्वास आयोगले लिएको बताउनु भयो ।

Spread the love