सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छः मन्त्री राई

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । आईतवार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्मास गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजिकरण गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । मन्त्री राईले सहकारीहरुले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको दाबी गर्नुभयो । उहाँले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । उहाँले ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै,मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले वचतकर्ताको वचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताउनु भयो । उहाँले सहकारी क्षेत्रमा देखिएका विकृति र वचतकर्ताको वचत सुरक्षाका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताउनु भयो । उहाँले सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका प्रदेश जिल्ला र विषयगत संघलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले अहिलेसम्म वचतकर्ताले मागदाबी गरेको एक अर्ब ४४ करोड रकममध्ये ४० करोड रकम फिर्ता गरिसकेको बताउनु भयो । उहाँले समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल-अचल सम्पती रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको बताउनु भयो । उहाँले कानूनको परिपालना नगर्ने र वचतकर्ताको वचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही गर्ने बताउनु भयो ।
सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानूनको दायरामा ल्याउनु आवश्यक रहेको बताउनु भयो ।

Spread the love